रेटिङपछि नेपाललाई विदेशी लगानी र ऋण ल्याउन सहज: विष्णु पौडेल

काठमाडौँ — सार्वभौम रेटिङपछि नेपाललाई प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) र विदेशबाट ऋण ल्याउन सहज भएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । सार्वभौम रेटिङको नतिजाबारे पूर्ण जानकारी दिन शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले अब नेपाललाई विदेशीबाट धेरै भन्दा धेरै पुँजी भित्र्याउन बाटो खुलेको बताए ।

‘नेपालले सार्वभौम क्रेडिट रेटिङमा ‘बीबी माइनस’ नतिजा प्राप्त गर्न सफल भएको छ । नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको छ,’ उनले भने, ‘क्रेडिट रेटिङको नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सबल रहेको र अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनु पर्दा न्यून व्याजदारमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको छ ।’ यसले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्न समेत सहयोग पुग्ने उनको दाबी छ ।

यो रेटिङसँगै बैंक तथा वित्तीय संस्था र अरू संस्थानहरूले विदेशबाट ऋण ल्याउँदा लागत कम पर्ने सरोकारवालाहरू बताउँछन् । मुलुकको सार्वभौम रेटिङ गरेपछि बैंकलाई विदेशी ऋणमा १.५ प्रतिशत लागत कम पर्ने अनुमान रहेको उनीहरूको भनाइ छ । ‘अब बैंक तथा वित्तीय संस्थाले विदेशबाट ऋण ल्याउँदा १.५ प्रतिशत मात्र लागत लाग्न सक्छ,’ स्ट्याण्डर्ड चार्टर्ड बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गोरख राणाले भने, ‘अहिले बैंक तथा वित्तीय संस्थाबाट ऋणदाताले ब्याजदरमा ४ देखि ४.५ प्रतिशतसम्म जोखिम बापत प्रिमियम थप रकम लिइरहेका छन् ।’

यस्तै, नेपालले पहिलो पटक प्राप्त रेटिङले मुलुकको अर्थतन्त्रको संरचना र अवस्थालाई स्वतन्त्र विज्ञको आँखाबाट मूल्याङ्कन गरी यथार्थ अवस्थालाई विश्वभरका लगानीकर्ता समक्ष पुर्‍याउने मद्दत पुगेको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् । यस अर्थमा सार्वभौम क्रेडिट रेटिङलाई मुलुकले आफ्नो अर्थतन्त्रलाई विश्वसामु खुला रूपमा मूल्याङ्कन गराई पारदर्शिता कायम गरेको रूपमा समेत लिन सकिने उनीहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया