लुम्बिनीमा पिकअप भ्यान पल्टिँदा दुई जनाको मृत्यु, २२ जना घाइते

लुम्बिनी : रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-७ स्थित भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटनामा परेको छ। यस दुर्घटनामा एक बालिका सहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन्।

सोमबार साँझ लुम्बिनी सांस्कृतिक नगरपालिका-७ को शिवगढिया मोडमा लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिएपछि गैँडहवा गाउँपालिका-१, शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका-६, मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

घाइतेमध्ये तीन जनालाई लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनालाई भैरवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको छ, इलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ।

प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार, तीव्र गतिमा चलिरहेको उक्त पिकअप भ्यान मोडमा पुगेपछि अनियन्त्रित भएर पल्टिएको थियो। भ्यानमा सवार २४ जना यात्रु लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार गरी घर फर्कदै थिए, जब यो दुर्घटना भएको थियो।

घटनापछि, कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका-४, बिठुवा बस्ने सवारी चालक २६ वर्षीय अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए।

पिकअप भ्यानमा अत्यधिक यात्रु सवार हुँदा यसको भारवहन क्षमता बढी भएर दुर्घटना भएको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया