विपद् पछिको पुनर्स्थापना : को हुन् सक्कली र को हुन् नक्कली प्रभावित? कसरी छुट्याउने?

नेपालमा दशैंअघि आएको भयानक प्राकृतिक विपद्ले जनजीवनमा गहिरो प्रभाव पारेको छ। नेपालीहरूले बाढी, पहिरो, डुबान, र कटानजस्ता विपत्तिको सामना गरिरहेका छन्, तर राहत र पुनर्स्थापनाका काम अझै प्रभावकारी रूपमा अगाडि बढ्न सकेको छैन। यसैबिच, गत वर्षको कात्तिक १७ मा जाजरकोटमा गएको भूकम्पपछिको पुनर्निर्माण कार्यसमेत अझै सुरु भएको छैन, र विस्तृत क्षति मुल्याङ्कन पनि पूरा भएको छैन।

“टक अफ द टाउन“ कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन परिषद्का सदस्य तथा विपद् विशेषज्ञ डा. गङ्गालाल तुलाधर र भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले पछिल्लो समयको विपद्, पुनर्निर्माणको तयारी र व्यवस्थापनको समिक्षा गरे। डा. तुलाधरले प्राकृतिक विपद्ले ठूलो क्षति पु¥याएको भए पनि पूर्वसूचना उपलब्ध हुँदा पनि तयारीमा कमजोरी भएको स्वीकार गरे। उनले बाढी र पहिरोको पूर्वानुमान सही भए पनि सावधानी अपनाउन नसक्दा ठूलो क्षति भएको बताए।

उनका अनुसार जल तथा मौसम विज्ञान विभागले राम्रो काम गरे पनि नेपालमा राम्रो कामको सराहना गर्ने संस्कार अभाव रहेको र विपद्पछि मात्रै दोषारोपणको संस्कृति हावी हुने गरेको छ। उनका अनुसार पूर्वचेतावनीहरू सम्बन्धित निकाय, सरकारी अधिकारी, नागरिक समाज र सर्वसाधारणमा पुगे पनि तयारी कमजोर देखियो।

डा. तुलाधरले संघ, प्रदेश, र स्थानीय सरकारहरूले पुनःस्थापनामा सामूहिक प्रयास आवश्यक रहेको बताए। संघीय सरकारले अन्तर्राष्ट्रिय दाताहरूलाई सहयोगको लागि अपिल गर्न सक्ने र प्रभावित क्षेत्रमा तत्काल राहतको प्रबन्ध गर्नुपर्ने उनको सुझाव छ। साथै, स्थानीय सरकारहरूले प्रभावित समुदायमा राहत वितरणमा ध्यान दिनुपर्नेमा उनले जोड दिए।

त्यसैगरी, भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले तीन तहका सरकारबीच सहकार्यको आवश्यकता औंल्याए। उनले स्रोत र जनशक्तिको अभावलाई प्रगतिको मुख्य अवरोध माने। साथै, जाजरकोटको भूकम्प प्रभावितहरूका लागि दोस्रो किस्ताको वितरणमा ढिलाइ भएको भन्दै उनले अस्थायी आवास निर्देशिकाको जटिल प्रक्रियाले गर्दा प्रभावित परिवारलाई कठिनाइ भएको बताए।

उनले राहत वितरण र पुनर्निर्माण प्रक्रियामा इमान्दारी र पारदर्शिता आवश्यक रहेको बताउँदै वास्तविक लाभार्थीहरूलाई पहिचान गर्न कडा नीति आवश्यक रहेकोमा जोड दिए। मेयर घर्तीले संघीय र प्रादेशिक सरकारलाई सहयोगको आह्वान गर्दै तथ्य–आधारित र प्रमाणमा आधारित कार्यनीतिहरू अपनाउन र क्षति मुल्याङ्कन कार्य सम्पन्न गर्न तत्काल कदम चाल्न आग्रह गरे।

कार्यक्रममा, डा. तुलाधरले अघिल्लो अनुभव र सिकाइबाट लाभ उठाउँदै पुनर्निर्माण कार्य अघि बढाउनुपर्ने सुझाउँदै कुनै पनि ढिलाइ नगरी वास्तविक पीडितहरूलाई राहत पु¥याउने काममा सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया