सुनको भाउ एकैदिन तोलामा १५ हजार ९ सय रूपैयाँले घट्यो

काठमाडौँ — सोमबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएपछि सोमबार सुनको भाउ तोलामै १५ हजार रुपैयाँभन्दा बढीले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ तोकिएको छ । आइतबार भने नेपाली बजारमा प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले कात्तिक १५ मा प्रतितोला भाउ १ लाख ७१ हजार रुपैयाँ निर्धारण गरेको थियो । यो मूल्य अहिलेसम्मकै उच्च थियो ।

सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो ।

आज प्रतितोला १ लाख ५१ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य पनि तोलामा ११५ रूपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९६० रूपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।

आर्थिक वर्ष ०८१/८२ को बजेटमा सरकारले भन्सार दर ५ प्रतिशतबाट बढाएर २० प्रतिशत बनाएको थियो । भन्सार बढेपछि व्यवसायीले घटाउन माग गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया